
नेपाली कांग्रेसका ७ वरिष्ठ नेता तथा पूर्वपदाधिकारीबीच चाक्सीबारीमा छलफल भएको छ । संविधान संशोधन प्रक्रिया अघि नबढेकोप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रकाशमान सिंहको निवासमा सोमबार भएको छलफलमा नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन सरकारले संविधान संशोधनबारे गरेको सहमति कार्यान्वयन नगरेको गुनासो गरे। सिटौलाका अनुसार उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति प्रकाशमान सिंहमार्फत प्रधानमन्त्रीलाई संविधान संशोधनबारे ध्यानाकर्षण गराइनेछ।
नेताहरूले पार्टीको १५औं महाधिवेशन, पछिल्लो राजनीतिक घटनाक्रम, तथा सरकारको कार्यशैलीबारे समीक्षा गरेका छन्। छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए।
यी नेताहरु बेलाबखतमा पालैपालो भेटघाट र छलफल गर्ने गरेका छन् । कांग्रेसभित्र देउवा र शेखर प्यानलको कुरा उठिरहँदा यी ७ नेतालाई भने छुट्टै रुपमा हेरिन्छ । यद्यपि उनीहरुलाई देउवा निकट भनेर पनि राजनीतिक वृत्तमा हेर्ने गरिन्छ ।