प्रधानमन्त्री केपी ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध रहेको दोहोर्याए । उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाकाको सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन विनाअवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।
चिनियाँ प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो । सोही अवसरमा चार परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री