
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताए । अहिले कांग्रेसको महत्त्वमाथि कम्युनिस्टहरुले आक्रमण गरिरहेको बताए ।
कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी ओलीसँग ‘कुलिङ पिरियड’ हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने उल्लेख गरे । सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्ने कुरा कांग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको कोइरालाको भनाइ छ ।
‘हामी सरकारमा छौं, ठीक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिस्टहरुले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौं । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्नसक्नुपर्छ,’ उनले भने, ‘सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो कि होइन ? यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एन्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’
सांसद कोइरालाले भूमिसम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्नसमेत गरे । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको आरोप पनि लगाए ।
‘भूमिसम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्यो । के कारण पर्यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरु, सांसदहरु ? त्यसको जवाफ नेपाली कांग्रेसका साथीहरुलाई चाहिन्छ,’ कोइरालाले भने ।
सांसद कोइरालाले कांग्रेस चुपचाप लागेर बस्न नहुने पनि बताए । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको उनको आरोप छ ।