काठमाण्डौँ , भदौ २८ :

विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

आरुघाट गाउँपालिका- ६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो । लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमानले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिनुभएको थियो ।

उनलाई आज अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उहाँले जानकारी दिनुभयो ।