
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कास्कीको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन् ।
धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै बिहीबार अध्यक्ष दाहाललाई भेट गरी पहल गरिदिन अनुरोध गरे ।
प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायत प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गासमेत हस्तान्तरण भइसकेको जानकारी गराए । प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रियाजस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता जनाए ।
‘तपाईंहरूले यो योजना अघि बढाउन जुन चिन्ता गर्नुभएको छ, म त्यसप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ । कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो,’ उनले भने ।
अध्यक्ष दाहालले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गर्दै योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।