
नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउने उद्देश्यले अब विमानस्थलहरु बन्नु नहुने धारणा राखेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग बिहीबार समितिमा छलफल भएको हो । छलफलका क्रममा उनले नेपालमा ५५ वटा विमानस्थल रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको जनाए ।
उनले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थ्ल थप्ने कुरा ल्याउनु उचित नरहेको बताए । अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाएर विस्तार गर्न जरुरी रहेको उनको भनाइ छ । सांसद भट्टराईले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट मात्रै अबको प्राथमिकतामा पर्नुपर्ने बताए ।
‘अब नेपालमा कति एयरपोर्ट चाहिन्छ । हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच, आदि कुराहरुले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ । ५५ वटा एयरपोर्टहरु सबै सञ्चालनमा छैनन् । ३२ वटा जति होलान् । त्यही पनि सबै रेगुलर छैनन् । कठोर लाग्न सक्छ । फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो,’ उनले भने, ‘राजनीतिक दबाब । राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउन अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ । त्यसबाहेक अरु एयरपोर्ट बनाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’
भट्टराईकाअनुसार १९४९ मा पहिलोपटक नेपालमा हवाई सेवा सुरु भएको थियो । त्यसपछि हालसम्म १०८ वटा दुर्घटना भएका छन् । जसबाट ९५९ जनाको मृत्यु भएको छ । अब दुर्घटना हुन नदिने गरी ऐन बनाउनुपर्छ ।
‘नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलोपटक हवाई सेवा सुरु गरेका थियौं । त्यसयता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन् । यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ । यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन्,’ उनले भने, ‘यी ऐनहरु किन बनाइरहेका छौं भन्दा यी दुर्घटनालाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटि, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान् । जाँचबुझ आयोगले निर्क्योल गरेकै छ ।’