
कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुनुभएको छ ।
विषयगत समितिका सभापतिको निर्वाचन तालिका अनुसार बिहीबार मनोनयन दर्ता र आज (शुक्रबार) निर्वाचन हुने जानकारी गराइएको थियो ।
न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईँ, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको थियो ।
प्रत्येक समितिमा एक- एकजनाले मात्र मनोनयन दर्ता गराउनु भएकाले उहाँहरू निर्विरोध निर्वाचित भएको घोषणा गरिएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को (पहिलो संशोधन समेत) नियम १३४ बमोजिम निर्वाचन प्रक्रिया अघि बढेको थियो ।
समितिका सभापतिहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस संसदीय दलतर्फ तीन- तीनजना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट एक जनाले उम्मेदवारी दिएको नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।