
नेपाल राष्ट्र बैंकले चारवटा बैंक तथा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार दुईवटा वाणिज्य बैंक र दुईवटा फाइनान्स कम्पनीलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स परेको छ ।
राष्ट्र बैंकका अनुसार सिटिजन्सलाई गरिएको कारबाहीअन्तर्गत राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. ६ को बुँदा नं. ४(१३) मा भएको व्यवस्थाविपरीत तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी सुविधा वृद्धि गरेको, सिटिजन फास्ट ट्रयाक लोनअन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको, बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको हो ।
यसैगरी सिटिजन्सले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी यस बैंकबाट जारी एकीकृत निर्देशन नं. २ को बुँदा नं. १९ मा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद नोक्सानी व्यवस्था कायम नगरेको, बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्ण पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेकाले प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको हो ।
यसैगरी एनआईसी एसियालाई गरिएको कारबाहीमा ऋणीबाट बढी ब्याज असुल गरेको पाइएकाले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफाबमोजिम सचेत गराइएको हो ।
राष्ट्र बैंकका अनुसार पोखरा फाइनान्स कम्पनीलाई गरिएको कारबाहीअन्तर्गत अनिवार्य नगद मौज्दात नपुग भएकाले ३२ लाख ७७ हजार ६७६ रुपैयाँ ३५ पैसा जरिवाना लगाइएको हो ।
गुहेश्वरी मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले कारबाही गरेको हो । गुहेश्वरी मर्चेन्टले राष्ट्र बैंकमा गरिएको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज/किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेकाले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको हो ।