
धरान रंगशालामा साउन १६ गते ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हस क्रिएसन्स, दृश्य: सी द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट यूकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।
आयोजकहरूका अनुसार कार्यक्रम साउन १६ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शक झुमाउनेछन् ।
कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । साथै धरानका चर्चित ब्यान्डहरू आस्था एन्ड द ब्रदर्स, द क्राइसिस र दी एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ । यी कलाकारको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने पक्का देखिन्छ ।
कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, ‘त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ । भीआईपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।’
धरानको संगीत क्षेत्रमा निकै ठुलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका सहरहरूबाट पनि दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । ‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीका लागि एक अविस्मरणीय अनुभव बन्नेमा आयोजकहरू ढुक्क छन् ।