काठमाडौं, साउन ११ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै गएको बताए । 

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने बताए । कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि बताए । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभइ अहिलेको आवश्यकता भएको बताए । यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरुमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक रहेको बताए । सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको बताए। प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको उल्लेख गरे । 

सभापति देउवाले भने, ‘आजको समय नै इन्टरनेटको हो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगहरु गर्न थालेका छौँ । यसको प्रयोग बढाउनसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु । हामी धेरै कुराहरु गर्नसक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा । प्रविधि यहाँ पुगिसकेको छ । कृत्रिम बौद्धिकता, इन्टेलिजेन्स पनि आइसक्यो अब के गर्नुहुन्छ ? त्यसकारण अहिलेको बेला यसको सदुपयोग नेपालले, देशले, हाम्रो पार्टीले गर्नसके धेरै काम गर्नसक्छौँ । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरुमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक छ । सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भूमिका खेलिरहेको छ । प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको छ । हामी सबै मिलेर प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’

सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, इनोभेसन प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको बताए । नेपाली कांग्रेसले सूचना र प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच विस्तार गर्न उपयोग गर्ने जनतालाई केन्द्रमा राखेको बताए ।