काठमाडौं, साउन ११ :

नेपाल किक बक्सिङ एसोसिएसन (डब्ल्यूएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्ल्यूएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । सेमिनार साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ ।

सोही अवसरमा ब्ल्याक बेल्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।

सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहेकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताइन् ।

मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनको विश्वास छ । एसोसिएसनको मिहिनेत र टिम स्पिरिटले गर्दा यस खेल विकास भइरहेको र अझ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको विन्दाले बताइन् ।

एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठ, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली, उपाध्यक्ष राजकुमार ठकुरी र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा बृहत् मात्रामा तयारी पूरा गरिएको महासचिव विन्दाले जानकारी दिइन् । सेमिनार उपलब्धिमूलक र प्रभावकारी हुने अपेक्षा रहेको एसोसिएसनले जनाएको छ ।