काठमाण्डौं, साउन १५ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैहुनुहन्छ । उहाले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा  प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । 
नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको रहेको समर्थन छ ।
११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन् ।
सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको थियो । उहाले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले साउन ९ गते सरकारमा दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गरेर १० साउनमा सपथ गराउनुभएको थियो ।