काठमाडौं, साउन १३ :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन् ।

‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औँ कार्गो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी मन्त्रालयको कार्यक्रम तय भएको बताए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवर्द्धनका विषयमा पनि वार्ता हुने उनले बताए । नेपालको पहिलो बजार छिमेकी देश भारत र चीन भएकाले दुवै देशबीच हुने व्यापार समस्या समाधान गर्न सरकारले काम गर्ने उनले प्रतिबद्धता जनाए ।

दुवै देशबीच व्यापारको स्तरवृद्धि हुनेगरी काम गर्न मन्त्रालयले पहल गरिरहेको मन्त्री भण्डारीले बताए । अरूका वस्तु खरिद गरेर मात्र व्यापार नहुने उल्लेख गर्दै उनले आफ्नो देशका उत्पादन विदेशमा निर्यात गरेर बिक्री बढाउने वातावरण बनाउने गरी काम भइरहेको बताए ।

साथै मन्त्री भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा  चुनौतीहरु रहेको पनि बताए। उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको भन्दै यस्ता चुनौतीका बारेमा सरकार गम्भीर रहेको बताए ।

उनले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनका अनुसार छिमेकी मुलुकहरुसँगको ब्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।