
जनकपुर ४ मा खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ ।
मृतककी आमा र भतिजी सख्त घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले जनाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरस्थित सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना गएराति करिब साढे ११ बजे भएको हो ।
प्रहरीका अनुसार घटनास्थलमै अञ्जलीको ज्यान गएको थियो भने उनको आमा आशादेवी यादव र १४ वर्षीया भतिजी राधा सख्त घाइते भएका छन् । दुवैलाई प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
आरोपी साह यसअघि आफ्नै पत्नी हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । अहिले फरार रहेका आरोपी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।