काठमाडौं, साउन १४ :

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित कानुन संकायको भवन उद्घाटन गरिएको छ ।

बल्खुस्थित विभागको कानुन संकायको नवनिर्मित भवनको उपकुलपति प्रा.डा. दीपक अर्यालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कानुन संकायका डिन प्रा.डा. कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए ।

उनले शैक्षिक संस्थालाई शैक्षिक चरित्रअनुरूप निर्माण गर्नुपर्नेमा अझ धेरै प्रयास आवश्यक रहेको धारणा राखे । कानुन शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध जनशक्तिको सेवा-प्रवाहलाई अनुसन्धानको विषय बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

‘शैक्षिक संस्थालाई साच्चिकै शैक्षिक संस्थाजस्तो बनाउन हामीले सकिरहेका छैनौं । हामीले कानुन शिक्षाको सन्दर्भमा आचरण र नैतिकता थप ध्यन दिनुपर्ने अवस्था सिर्जना हुन आएको छ,’ उनले भने, ‘हामीबाट उत्पादित जनशक्तिबाट भएको सेवा प्रवाहलाई पनि प्राज्ञिक अनुसन्धानको विषय बनाउनुपर्ने देखिएको छ ।’

उनले हाल कानुन संकायअन्तर्गत ६ वटा आंगीक क्याम्पस, एक सम्बन्धन प्राप्त क्याम्पस र एक पब्लिक क्याम्पससहित कुल ८ कलेजमा कानुन विषयको पठनपाठन भइरहेको पनि जानकारी दिए । ‘कानुनी शिक्षा अध्ययन गर्ने विद्यार्थीको अत्याधिक चाहना र आवश्यकताको बोध हुँदाहुँदै पनि तद्अनुसार शिक्षकहरुको प्रबन्ध गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘यस संकायअन्तर्गत हाल कानुनको पठनपाठन ६ वटा आंगीक क्याम्पस र एउटा सम्बन्धप्राप्त क्याम्पस र एक पब्लिक क्याम्पस गरी जम्मा आठवटा कलेजमा कानुन विषयको पठनपाठन हुँदै आएको जानकारी गराउन चाहन्छु ।’

उनले विश्वविद्यालयको आफ्नै नयाँ भवनबाट पठनपाठन हुँदा कानुनी शिक्षाको सुधार हुने विश्वास व्यक्तसमेत गरे ।