काठमाडौं, साउन १४ :

राष्ट्रियसभा बैठक चलिरहँदा सरकारका मन्त्रीहरु निदाएको दृश्य सार्वजनिक भएको छ । 

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि बुधबार छलफल चलिरहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अगाडि बसेका मन्त्रीहरु निदाएको प्रस्टैसँग तस्बिरमा देख्न सकिन्थ्यो । जनताले जिताएर पठाएका माननीयहरु संसद् जस्तो गरिमामय थलोमा भुसुभुसु निदाएको अशोभनीय देखिन्थ्यो । 

यसरी संसद् बैठकमा सांसद र मन्त्रीहरु निदाउने गरेको यो पहिलोपटक भने होइन ।  यसअघि पनि विभिन्न समयमा संसद् बैठकका क्रममा सांसद र मन्त्रीहरू निदाएका दृश्य सार्वजनिक हुँदै आएका छन् । जनताका प्रतिनिधिहरू गम्भीर विषयमा छलफल भइरहँदा नै थकित वा बेखबर देखिनु जनताप्रति उत्तरदायित्वबाट विमुख हुनुसरह हो । 

यस्ता घटनाले संसद् जस्तो गरिमामय स्थानको मर्यादामा आँच पुगेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।