नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
हेटौंडामा बुधबार भएको निर्वाचनमा कुल ३७ मत खसेकामा बानियाँको पक्षमा २२ र मुख्यमन्त्रीसमेत रहेका उनका प्रतिस्पर्धी बहादुरसिंह लामाको पक्षमा १४ मत पर्यो । एक मत भने बदर भयो ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित दलको नेतामा बानियाँ चुनिएका हुन् । निर्वाचनमा शतप्रतिशत मतदान भएको हो ।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।