
बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।
कांग्रेसका नवनियुक्त ३ जना मन्त्रीको आज दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।
हिजो सत्ता साझेदार दल एमालेले रोकेपछि कांग्रेसका नवनियुक्त मन्त्रीको शपथ ग्रहण रोकिएको थियो । प्रदेश प्रमुख कार्यालयले पनि सार्वजनिक सूचना जारी गरेको छ ।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर हिजै बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
उनले धादिङका गोविन्द लम्साल,चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाएका थिए ।
मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुख समक्ष पत्राचार गरिसकेका छन् ।
सत्तासाझेदार दल कांग्रेसको आन्तरिक विवाद भईरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले हिजो एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।
मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए ।