काठमाडौं, साउन १५ :

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् ।

 प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा समीक्षा गर्दै मन्त्रिपरिषद्‌मा फेरबदल गर्न लागेका हुन्।सत्तारुढ गठबन्धनबीच सरकार सञ्चालन र मन्त्रीहरूको कार्यसम्पादनबारे पुनर्मूल्यांकन गरी नयाँ अनुहार ल्याउने तयारी भइरहेको बुझिएको छ।

यसैविषयमा छलफल गर्न  कांग्रेस सभापति देउवा बालुवाटार पुगेका छन्। प्रमुख सत्ता गठबन्धका दुई शीर्ष नेताबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकारको एकवर्षे समीक्षा र आगामी कार्ययोजनाका विषयमा हुने भएको छ।

बालुवाटारमा भएको छलफलमा एमालेतर्फ प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र रमेश बडाल उपस्थित छन्। यस्तै कांग्रेसतर्फ सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।