काठमाडौं, साउन १५ :

आमरण अनशनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा वीर अस्पताल भर्ना गरिएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।  

तीन दिनसम्म भोकहड्तालमा बस्नुभएका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका थिए । हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइएका छन् ।

भट्टराईले बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नर्म्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतका माग राख्दै अनशन बसेका हुन् ।