
संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्ने बताएका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छ्लफलमा उनले मन्त्रालयअन्तर्गत पाँच आयोजना रहे पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकाले अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताए । मन्त्री पाण्डेले भने, ‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाइदा लिनुपर्छ ।’
यस्तै पशुपति र लुम्बिनीको गुरुयोजनाअनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाका रुपमा राखे पनि यो निर्माणमै अन्योल रहेको मन्त्री पाण्डेले बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर अगाडि बढ्ने मन्त्रीले पाण्डेले जनाए । भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्या मात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागु नगर्दा समस्या आएको उनको भनाइ छ ।
लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको बताउँदै अब जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको मन्त्री पाण्डेको भनाइ छ ।