गोरखा, भदौ २९ :

उत्तरी गोरखाको चीनसँग जोडिएको नाका बन्द भएको छ । हरेक बर्ष १ महिनाका लागि खोल्ने गरिएको गोरखाको रुइला नाका बन्द भएको हो । 

गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एक बर्षसम्मका लागि बन्द गरिएको छ ।

नाका बन्द गर्ने दिनमा  चिनियाँ र नेपाली सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरेका थिए ।

त्यसपछि चिनियाँ सुरक्षा अधिकारी, नेपालतर्फको सशस्त्र प्रहरीको बिओपी तथा जनप्रतिनिधिहरु र साम्दाको स्थानीयबासी बीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

बर्षमा एक पटक मात्र खुले पनि रुइला नाकाबाट गोरखाका उत्तरी बस्तीका  बासिन्दाले दैनिकी चलाउने सामानहरु ल्याउन सजिलो भएको थियो ।

कोरोना महामारीपछि भने यो नाका केही बर्ष बन्द भएको थियो ।