उत्तर प्रदेश, साउन १८ :

उत्तर प्रदेशको गोन्डा जिल्लामा एक बोलेरो नहरमा खस्दा ११ जना भक्तजनको ज्यान गएको छ। बोलेरो पृथ्वीनाथ मन्दिरको दर्शनका लागि गइरहेको थियो। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। घटनाले सिंगो गोन्डाबासी स्तब्ध भएका छन्।

दुर्घटनाको मुख्य कारण ओभरलोडिङ मानिएको छ। ७ सिटको बोलेरोमा १५ जना सवार थिए। क्षमताभन्दा दोब्बर बढी भारले गाडी असन्तुलित भई अनियन्त्रित भएर नहरमा खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

बोलेरोमा यात्रुहरू एकआपसमा कोचिएर बसेका कारण दुर्घटना हुँदा निस्किन सक्ने ठाउँ थिएन, जसले गर्दा अधिकांशले घटनास्थलमै ज्यान गुमाएका थिए। ज्यान गुमाउने सबै मोतीगञ्ज प्रहरी चौकी क्षेत्रका बासिन्दा हुन्। हाल गोन्डा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

यसैबीच,मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्न निर्देशन दिएका छन्। घाइतेहरूको उचित उपचारको व्यवस्था गर्नसमेत उनले सम्बन्धित निकायलाई आदेश दिएका छन्।

जिल्ला प्रशासन पीडित परिवारहरूसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग पुर्‍याइरहेको विज्ञप्तिमा उल्लेख छ। यस्ता दुर्घटनाको पुनरावृत्ति रोक्न आवश्यक कदम चालिने मुख्यमन्त्रीले जनाएका छन्।