काठमाडौं, साउन २० :

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवं कुलिङ अफ पिरियडबारे छानबिन गर्न गठित विशेष समितिकी सदस्य रोशन कार्कीले प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भएको आरोप लगाएकी छिन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । सांसद कार्कीले आफूहरुले छानबिन समितिको प्रतिवेदनमा चाहेको जस्तो निष्कर्ष निकाल्न नसकेको बताइन् । ठुला राजनीतिक दलको सत्ताको दम्भ र बहुमतको अगाडि आफूहरुको केही नलागेको बताइन । 

नेताहरुले पैसामा नैतिकता बेच्ने गरेको बताइन्। प्रतिवेदन तयार पार्ने काममा सोमबार ५ घण्टा सत्तारुढ दलका सांसदहरु हराएको उनको आरोप छ । संसदीय दलमा बैठक बसेर सांसदहरुलाई सिध्याइदिन्छु जस्ता धम्की दिएको बताइन् । एमालेले मुख्यसचिवलाई बचाउने प्रयास गरेको र कांग्रेसले रामहरि खतिवडालाई बचाउन लागेको बताइन् ।

उनले भनिन्, ‘हामीले चाहेका जस्ता निष्कर्ष निकाल्न सकेनौँ । किनभने हामीले सकेनौँ । ठूला दलका सत्ताको दम्भ र बहुमतको अगाडि हाम्रो केही लागेन । तर पनि रातदिन उहाँहरुसँग लड्यौँ । तीन जनाले । विपक्षी दलमा भएकाहरुले । अन्तिमसम्म लड्यौँ । नैतिकता रहेसम्म कुलिङ अफ पिरियडको आवश्यकता पर्दैन । तर अहिलेसम्म नेपालमा आफ्ना पाप लुकाउन कर्मचारीलाई ठूला पदमा लगिन्छ । नैतिकतालाई पैसामा नेताहरुले बेच्छन् । नैतिकता भन्ने शब्दसँग ठूला दल डराउँदा रहेछन् । किनभने नैतिकता विहीन रहेछन् । सत्तासीन ठूला दलहरु नैतिकताविहीन रहेछन् । दिउँसो ५ घण्टा गायब हुनुभयो । संसदीय दलमा गएर राजनीति तेरो सिध्याइदिन्छु भनेर ब्ल्याकमेलिङ गरेर धम्की दिइयो । एमालेले मुख्यसचिवलाई बचाउन खोजेको थियो । उहाँको नेतृत्व भ्रष्टाचारबाट डुकेको छ । गिरिबन्धु टि स्टेटमा डुबेको छ । कांग्रेसले रामहरि खतिवडा बचाउनु थियो । नैतिकताको आधारले रामहरि खतिवडाले राजीनामा गर्नुपर्छ ।’