
भारतको उत्तराखण्ड राज्यको हर्षिल क्षेत्रमा मंगलबार लेदोसहितको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार ४ जनाको मृत्य भएको पुष्टि भएको छ भने ५० जना बेपत्ता भएका छन् । धेरै घर, होटल र अन्य संरचनाहरू बगाएका छन्।भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको छ ।
जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यका अनुसार, खीर गंगा गदेरामा एक्कासी पानीको सतह बढेपछि स्थानीय वस्तीहरू प्रभावित भएका हुन्। ‘केही सम्पत्तिमा क्षति पुगेको छ र चार जनाको मृत्यु भएको पुष्टि भएको छ,’ उनले सञ्चारमाध्यमलाई जानकारी दिए। भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार बाढीले ठुलो संख्यामा संरचनाहरू क्षतिग्रस्त बनाएको छ। एक स्थानीय बासिन्दाले भने, ‘मैले मेरो आँखा अगाडि धेरै होटलहरू बगाएको देखें। अवस्था अत्यन्तै भयावह थियो।’
मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्विटरमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सरकार गम्भीरतापूर्वक लागिपरेको बताएका छन्। उनले भने, ‘भीषण वर्षा भएको रिपोर्ट आएको छ। पानी र धेरै नै तीव्र गतिमा आएको छ। हाम्रो प्रयास सकेसम्म चाँडो राहत र उद्धार कार्य गर्ने छ।’
हाल राहत तथा उद्धार कार्यका लागि जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलतर्फ खटिएका छन्। साथै, घटनास्थलको निगरानी उच्च सतर्कताका साथ भइरहेको जनाइएको छ।