काठमाडौं, साउन २० :

बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बानियाँलाई कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरी ६४ सांसदको समर्थन छ ।

कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५६ जना सांसद आवश्यक पर्छ । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यहरूले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोही आह्वानअनुसार बानियाँले हिजो (सोमबार) नै दाबी पेस गरेका थिए । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले १८ साउनमा राजीनामा दिएपछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । आफ्नै पार्टीबाट राजनीतिक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

इन्द्रबहादुर बानियाँ बने बागमतीको छैटौं मुख्यमन्त्री

बानियाँको नेतृत्वमा आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जसमा नेपाली कांग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीमा शिवराज अधिकारी मन्त्रालय पछि तोकिने र कृष्णकुमार तामाङ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय रहेका छन् ।

त्यसैगरी सत्ता साझेदार नेकपा एमालेका तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी विकासमन्त्री, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।