
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८औं वार्षिकोत्सवमा वर्ष उत्कृष्ट पुरुष/महिला खेलाडीलाई सम्मान गर्ने भएको छ ।
वार्षिकोत्सव आज (बुधबार) लाजिम्पाटमा हुँदै छ । सोही अवसरमा वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरिने महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।
गत अगस्त १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता पनि सम्मानित हुनेछन् । उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र १ कास्य पदक जितेको थियो । वर्ष उत्कृष्ट पुरुष/महिला खेलाडीलाई नगदसहित सम्मान गरिने महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरले बताए ।
सम्मान कार्यक्रमअघि बुधबारै महासंघको वार्षिक साधारणसभा पनि हुनेछ । विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशलटारस्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो ।