काठमाडौं, साउन २१ :

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरीत अभ्यास भइरहेको  टिप्पणी गरिन् । उनले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाइन् । उनले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन् ।

 उनले आफूहरु भिजिट भिसाको विरोधी हामी नभएको उल्लेख गर्दै भिजिट भिसाको नाममा मान्छे मार्ने र बेच्ने कार्यको विरोध गरिरहेको पनि उल्लेख गरिन् । उनले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुर्व्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ । हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं । आज हजारौं दिदिबहिनिहरु वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन् । हाम्रा दाजुभाईहरु बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौं, देश त लुट्यौ नेपालीहरुलाई न मार । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच ।’

उनले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन् ।