
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेस गर्ने जानकारी दिए ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बुधबार उनले युनेस्कोको आगामी ४८औं वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताएका हुन् ।
मन्त्री पाण्डेका अनुसार यसअघि ४७औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन सकेन । उनले भने, ‘भारतले प्रस्तावितस्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो । तर नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, अब समस्या आउँदैन ।’
त्यसैगरी मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्न नदिन भारतले सहयोग पुर्याएको तथ्यसमेत सार्वजनिक गरे । यद्यपि लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले केही सुधारात्मक कामहरू अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।