
काठमाडौं, साउन २१ :
गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामिरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन् । गृह मन्त्रालयमा बुधबार गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेकी हुन् ।
भेटमा गृहमन्त्री लेखकले नेपाल-श्रीलंकाबीच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल-श्रीलंकाबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा पनि जोड दिए ।
यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबीचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन् । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताइन् ।