काठमाडौं, साउन २२ :

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चारवटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी-३ डब्ल्यूटी प्रेसिटेन्ड कप ओसिएना, डब्ल्यूटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी-२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चारवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न लागेका हुन् ।

उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्नेछन् । यी चारवटा प्रतियोगिता अगस्त १४ देखि १७ सम्ममा अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुँदै छन् । यी प्रतियोगितामा अशोक यसअघि पनि निर्णायक रहिसकेका छन् ।

अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन् । अगस्त ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन् ।

त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदै छन् । उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन् ।