पर्वत, साउन २४ :

पर्वतको मोदी गाउँपालिका–४ क्याङमा शनिबार बिहान जनै पूर्णिमाको पूजा सकेर फर्कंदै गरेको बोलेरो जिप पहिरोमा पुरिएको छ। जिपमा रहेका यात्रुहरू पहिल्यै झरेर सुरक्षित स्थानमा पुगेका कारण मानवीय क्षति भएको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङका अनुसार ध.क.ज ५५८ नम्बरको बोलेरो जिपमा सवार यात्रुहरू बाटो अप्ठ्यारो भएर गाडी केही बेर रोकिँदा झरेका थिए। माथिबाट साना ढुङ्गा खस्न थालेपछि चालक पनि बाहिर निस्केर ज्यान जोगाएका हुन्।

जनै पूर्णिमाको अवसरमा मोदी गाउँपालिका–४ लेस्पारस्थित सहस्रधारामा रहेको बराहा मन्दिरमा हरेक वर्ष श्रद्धालुहरूको भिड लाग्ने गर्छ। यस वर्ष पनि कुस्मा र आसपासका जिल्लाबाट शुक्रबारदेखि नै श्रद्धालुहरू पूजा गर्न पुगेका थिए।

पातिचौरदेखि बाजुङ, खुाईजरी, क्याङ हुँदै करिब तीन घण्टामा र कुस्मादेखि दुर्लुङकोट, हलहले, मेकसार हुँदै साढे तीन घण्टामा लेस्पार पुग्न सकिन्छ।