कैलाली, साउन २४ :

धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । ‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौं’ उनले भने,‘झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।’

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।  कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झड्पका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो । घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै  कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । 

कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल ६ सय ८० जना  रहेका छन् । 

यसैबीच, मानव अधिकार आयोग कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको जनाएको छ ।मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासनको फितलो सुरक्षाका कारण हिंसात्मक घटना भएको जनाएको छ ।

मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले शनिबार दिउँसो कारागारको निरीक्षण गरेका हुन् । उनले
आन्तरिक सुरक्षामा लापरवाही,समन्वयको अभाव, क्षमता भन्दा बढि कैदीबन्दी राखिनु लगायतका कारणले घटना हुन पुगेको बताउका छन् ।

कैलाली कारागारमा गएराति ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।त्यस क्रममा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।
अहिले त्यहाँको स्थिति समान्य भएको मानव अधिकार आयोगले जनाएको छ ।