बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश अर्थतन्त्र कर्पोरेट

पहिरोले सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, ३ घाइते

क्याम्पमा करिब ४० कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चारजना पहिरोमा परेका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
पहिरोले सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, ३ घाइते
लमजुङ, साउन २४ :

लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो ।

दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उनले जानकारी दिए । घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए । उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् । अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार