भक्तपुर, साउन २५ :

अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह-ताथली-नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् ।

बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर सांकेतिक विरोध गरेका हुन् ।

चाँगुनारायण नगरपालिका ९, अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए ।

उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर सांकेतिक विरोध गरेको बताए । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-जगाति-साँगा-धुलिखेल सडक ६ लेनमा विस्तार भइरहेकाले ‘च्यामासिंह-ताथली-नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको अध्यक्ष गिरीले बताए ।

‘ताथलीको भञ्ज्याङमा सडक नै खस्न लागेर जोखिमपूर्ण अवस्था छ । रामसीता मन्दिरसँगैको अधुरो सडक जीर्ण भएर दैनिक जाम र दुर्घटनाको जोखिम बढेको छ । तर व्यवस्थापनमा ध्यान दिइएको छैन । यसले ब्रह्मयाणी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पँधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएको छौं,’ उनले भने । तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामकरण गरिएको छ । -रासस