काठमाडौं, साउन २६ :

हमासले बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलस्वरुप उनका आमा र बहिनी सोमबार इजरायल प्रस्थान गरेका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमा पदमा जोशी र बहिनी पुष्पा जोशी फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन् ।

विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत इजरायल गएका हुन् । उनी २०८० असोज २० देखि परिवारको सम्पर्कमा छैनन् । इजरायल-हमास युद्ध सुरुको भएको केही समयपछि इजरायली सुरक्षा फौज आईडीएफले बन्धक विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।

त्यसयता विपिनबारे कुनै जानकारी आएको छैन । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

उनको उद्धारका लागि परिवारले राष्ट्रपति, प्रधानमन्त्री, नेपालका लागि इजरायली राजदूतसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन् । विपिनको खोजीका लागि सरकारले पहल गरिरहेको दाबी गरे पनि हालसम्म उनको अवस्था अज्ञात छ ।