म्याग्दी, भदौ ३१ :

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।

साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र- ५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो ।

४४ लाख रुपैयाँको बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको उहाँले बताउनुभयो । 

साङ्ताका १३ घर लाभान्वित भएका छन् । विद्युत् सुविधा भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । 

साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो । 

साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुगेको छैन ।