
काठमाडौं, साउन २९ :
काठमाडौं महानगरपालिकाले कालीमाटी हुँदै बल्खुतर्फ बग्ने मनमती खोलामाथि अवैध रूपमा निर्माण गरिएका संरचनाहरूमा डोजर चलाएको छ।
महानगरले कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ १०० मिटरभित्र पर्ने सबै अवैध संरचना बिहीबार हटाएको हो। तीमध्ये स्वीकृति नलिइएका पक्की पुलसमेत डोजर र ब्रेकर प्रयोग गरेर भत्काइको महानगरले जनाएको छ।
नदी करिडोर अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने कामलाई तीव्रता दिइरहेको महानगरले कालीमाटी र कुलेश्वर क्षेत्र हुँदै बग्ने खोलामा बनाइएका अवैध संरचनाहरूमा बुधबार डोजर चलाएको थियो।
महानगरका अनुसार कुनै पनि स्वीकृति नलिइकन खोलाको पेटीमा बनाइएका संरचनाहरूले नदीको बहावमा अवरोध पुर्याउने, बाढी र डुबानको जोखिम बढाउने भएकाले यस्ता संरचना हटाउनु परेको हो।