काठमाडौं, साउन ३० :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यसपटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकलनलगायत लक्ष्य पूरा गर्न अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।

औसत प्रयासले लक्ष्यहरु पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यमा अल्झिनेभन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे ।

निजी क्षेत्रको मनोबल बढाउनल अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरु ठीक भए पनि निजी र  सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए ।

गभर्नर विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै ‘बिग पुस’ गर्नुपर्नेमा जोड दिए ।

अर्थसचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरु आइसकेका हुनाले आत्मसमीक्षा गरी  काममा केन्द्रित हुनु पर्ने धारणा राखे ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरु कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरु पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औंल्याए ।

अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।

बैठकका सहभागीहरुले कार्यक्रम कार्यान्वनयका क्रममा देखापर्ने समस्या र चुनौती तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।