ललितपुर, साउन ३० :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (शुक्रबार) आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताएका हुन् ।

‘देशको तेस्रो ठुलो जनसङ्ख्या भएको मगर जाति आदिवासी जनजाति समुदायअन्तर्गतको पनि सबैभन्दा ठुलो सङ्ख्यामा रहेको जाति हो, मगर समुदायलाई कांग्रेससँग जोड्न तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरलाई सङ्गठित बनाउन बलियो भ्रातृ संस्थाको आवश्यकतालाई महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गरिएको थियो,’ देउवाले भने ।

उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयताअनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन गरेको विषय आफ्ना मेरो स्मरणमा रहेको उनको भनाइ थियो ।

‘नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्तलाई मगर समुदायमा पुर्‍याउन तथा मगर समुदायको आवाजलाई नेपाली कांग्रेसको आवाज बनाउन संघले अझ बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले २०१६ सालको बजेटमा पहिलोपटक क्षेत्रीय भाषालाई प्राथमिकता दिँदै प्राथमिक तहसम्म अध्ययन अध्यापनका लागि आवश्यक बजेट विनियोजन गरेर विभिन्न मातृभाषाको संरक्षण र संवर्धनको सुरुआत गर्नुभएको थियो ।’

सभापति देउवाले मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्न आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बीपी कोइरालाले सुरुआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको बताए ।

उनले पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिंगको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्न ‘कदमजम’ अभियान अङ्गीकार गरी कांग्रेसलाई देशकै समावेशी पार्टीका रुपमा विकास गरिएकामा जोड दिए ।

‘आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको मगर समुदाय पार्टी नेतृत्वमा थोरै प्रतिनिधित्व भइरहेको यस अवस्थामा अझ बढी प्रतिनिधित्व हुन सक्नेगरी नेतृत्व स्थापित गराउन मेरो सहयोग र समर्थन रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु, नेपाली कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनविरूद्ध पहिलोपटक आवाज बुलन्द गरी सहादत प्राप्त गरेका लखन थापामगरलाई प्रथम सहिद घोषणा गरेको तथ्यलाई तपाईंहरूका बीचमा म राख्न चाहन्छु,’ उनले भने ।

उनले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए । आजबाट सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि (शनिबार) सम्पन्न हुने कार्यक्रम तय भएको छ ।