
गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाएका छन् ।
मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिवाना सजाय पाएर फरार रहेकाहरु गत आव ०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्यांकले जनाएको छ । अघिल्लो आव ०८०/८१ मा देशभरबाट कुल १४ हजार ७६४ फरार अभियुक्त प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको गृहमन्त्रीको सचिवालयले दाबी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६५.०८ प्रतिशतले बढी हो ।
त्यसैगरी प्रहरीले आव ०७९/८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । गत आवमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो ।
गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आव ०८१/८२ ) मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।
त्यसैगरी कोसी प्रदेश प्रहरीले ३४ सय ८९, मधेस प्रहरीले ५ हजार ७१२, बाग्मती प्रदेश प्रहरी १७ सय ३, गण्डकी प्रदेश प्रहरी १४ सय ९१, लुम्बिनीले ३९ सय ९६, कर्णाली प्रदेशले ५५६, सुदूरपश्चिम प्रदेशले ९२८ र केन्द्रीय अनुसन्धान ब्युरो १३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत आवमा एक अर्ब ५० करोडभन्दा बढी जरिवाना रकमसमेत असुल उपर गरेको छ । त्यसैगरी जिल्ला स्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाडौं प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौंमा हरेक दिनजसो ठुला र साना अप्रेसन चलाइरहेको काठमाडौं प्रहरी परिसरले काठमाडौंबाट मात्रै ५५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको छ ।
उपलब्धि शान्ति सुरक्षामा भने सीमित छैन । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जबरजस्त उपलब्धि हासिल गरेका छन् । काठमाडौं प्रहरी परिसरले गत आवमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक वर्षको अवधिमा परिसरले काठमाडौंबाट मात्रै ५५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।
‘काठमाडौं परिसरले आर्थिक वर्ष ०८०/८१ मा एक हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो,’ उनले भने, ‘अहिले त्यो संख्या वृद्धि गरेर ५५ सय ८५ पुर्याउन काठमाडौं प्रहरी परिसर सफल भएको छ ।’ उनले आफूहरु फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागु गरिरहेको जानकारी दिए ।
प्रहरी संगठनको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ ।
त्यस्तै गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ मुद्दा दर्ता भएका छन् । सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरुसमेत कानुनको दायरामा आएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।