काठमाडौं, भदौ ३ :

बेरुजु फर्छ्योट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ.व. ०८१/८२ मा हालसम्मकै उच्च दुई अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्योट गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालयअन्तर्गत कुल बेरुजु तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्योट बाँकी थियो ।

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए । मन्त्रालयका अनुसार गत आवमा सम्परीक्षण तथा फर्छ्योट प्रगति ६३.१७ प्रतिशत रहेको छ ।

‘चालु आवमा अब एक अर्ब ४७ करोड ४५ लाख रुपैयाँ मात्रै कुल बेरुजु बाँकी छ,’ अधिकारीले भने, ‘कार्ययोजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्योटमा लागेको छ ।’ उनले तीन वर्षयताको बेरुजुको अवस्था हेर्दा आव ०८१/८२ मा लेखापरीक्षण अंकका आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए । ‘आव ०७८/७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो,’ उनले भने, ‘अहिले शून्य प्रतिशतमा झरेको छ ।’

मन्त्रालयले बेरुजु फर्छ्योट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत वर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्ययोजनाबमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्नेलगायत काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुलउपर र पेस्की बेरुजुका सम्बन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्योट, सम्परीक्षण र वित्तीय सुशासनसम्बन्धी काम गर्दै आएको छ ।