काठमाडौं, भदौ ४ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै संघर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन् ।

नेपाल महिला संघद्वारा बुधबार आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूभिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले भनिन्, ‘महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । महिलाले महत्त्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको संघर्षकै उपलब्धि हो ।’

उनले नेपाली कांग्रेसकै महिला नेतृहरु मंगलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै अरु पनि महिला नेतृहरुको लामो संघर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गरिन् ।

वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनको तर्क थियो । उनले २००७ सालको क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको पनि स्मरण गरिन् ।

‘उहाँहरुकै प्रेरणाबाट हामी पनि महिला अधिकारको संघर्षमा लाग्यौं र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलोपटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौं,’ उनले भनिन् ।

वर्तमान संविधानले नेपालको संघीय तथा प्रदेश संसद्‌मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरुमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक रहेको उनको भनाइ छ । राणाले यी उपलब्धि रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै संघर्ष गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट गरिन् ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि पनि संविधान लेख्ने बेलामा आफूहरुले निकै संघर्ष गर्नुपरेको उनले स्मरण गरिन् । राणाले अर्को एक प्रसंगमा महिलालाई राजनीतिमा सजिलो नरहेको अनुभव पनि सुनाइन् ।

उनले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हावी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौं, सशक्त बनायौं र अधिकारका लागि अघि बढ्न तयार पार्यौं ।’

उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको पनि बताइन् ।