
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू पटक–पटक प्रधानमन्त्री हुनुको कारण जनताको समर्थन र पार्टी तथा सांसदहरूको सहयोग रहेको बताएका छन्।
काठमाडौंमा बुधबारआयोजित स्व. प्रदीप गिरीको स्मृति सभामा देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको स्पष्ट पारे। ‘जनता देशका मालिक हुन्, सार्वभौम सम्पन्न जनता नै हुन्,’ उनले भने, ‘जनताले जिताएर पठाएका कारण प्रधानमन्त्री हुन सकेको हुँ।’
उनले डडेलधुराबाट पराजित हुने भविष्यवाणी धेरैले गरे पनि जनताको समर्थनले सधैं जितेको दाबी गरे। ‘धेरै पार्टीका नेताहरू मेरो विरुद्ध लागे, तर पनि जित्न सफल भएँ,’ देउवाले भने, ‘जनता नै सबैभन्दा ठूलो शक्ति हो। त्यसैले हामी सबैले जनताको सेवा गर्नुपर्छ।’
पटक–पटक प्रधानमन्त्री भएको भन्दै आउने आलोचनाप्रति जवाफ दिँदै उनले भने, ‘कतिपटक प्रधानमन्त्री हुने भनेर प्रश्न उठ्छ, तर म त जनताले भोट हाल्छन् भने बन्छु नि। सांसदहरूले समर्थन गर्छन्, दलहरूले साथ दिन्छन्, त्यसैले प्रधानमन्त्री बन्ने मौका पाएको हुँ।’
देउवाले अहिलेसम्म भएका सबै निर्वाचनहरू प्रत्यक्ष लडेको र कहिल्यै पराजित नभएको बताए। ‘म सौभाग्यशाली व्यक्ति हुँ, प्रत्यक्ष निर्वाचन लडेरै जितेको छु,’ उनले भने।
उनले सबै राजनीतिक दलका नेताहरूलाई जनताको भावना अनुसार चल्न र सेवा भावले राजनीति गर्न आग्रह गरे।