काठमाण्डौँ , भदौ ३१ :

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बसोबासका लागि आवश्यक हुने घर जग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने  ‘अपार्टमेन्ट’ हरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो । 

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाउनुभयो ।

भेटमा महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौँ महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन हुन नहुने, निजी क्षेत्रको सहकार्यमा जग्गा विकास कार्यक्रम ल्याउनुपर्ने, सहरी विधेयक ल्याउनुपर्ने, घरजग्गा कारोबारलाई ‘डिजिटलाइज्ड’ गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री ओली समक्ष राखेको थियो ।