चितवन, भदौ ६ :

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ ।

चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्वर्णविन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भष्म, घिउ, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषतः पुष्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।

उनले भनिन्, ‘विभिन्न अध्ययनहरूले देखाएका छन् कि स्वर्णविन्दु सेवन गरेका बालबालिकालाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) पनि बलियो भएको पाइन्छ । औषधि सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।’ तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बच्चामा यो खुवाउन नमिल्ने उनले जानकारी दिइन् । मुख्यतः ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा. अधिकारीले बताइन् ।

चिकित्सालयका बालरोग विशेषज्ञ डा. सुशान्त भण्डारीका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तीक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।

स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रव्यापी रुपमा स्वर्णविन्दु प्राशन कार्यक्रम लागु गर्ने उद्देश्यले २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहीबारदेखि यो कार्यक्रम लागु गरेको छ । केन्द्रको घोषणा हुनु झन्डै दुई वर्षअघि नै चिकित्सालयले आफ्नै निर्देशिका बनाएर यो सेवन गराउँदै आएको थियो । -रासस