
गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको छ । उनका अनुसार २८ सय ९९ जना घाइते भएका छन् ।
राष्ट्रिय सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै शुक्रबार उनले यस्तो जनाएका हुन् । गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको जानकारी गराए ।
‘द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिएको छ,’ उनले भने, ‘घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ ।’
साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको पनि उनले जानकारी दिए ।