रौतहट, भदौ ८ :

रौतहटको गौर-सिरसिया खण्डमा पर्ने गौर नगरपालिका ९ स्थित दिव्यज्योति स्कुलको गेटनजिकै २६ वर्षीया रुबीकुमारी साहको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार माधवनारायण नगरपालिका २, महादेवपट्टी माइत भएकी रुबीकुमारीको शव भेटिएको हो ।

स्थानीय बासिन्दाले शनिबार राति नै शंकास्पद अवस्थामा ठुलो सुटकेस देखेर प्रहरीलाई खबर गरेका थिए । सुटकेस भने आइतबार बिहान मात्रै खोलिएको हो । ‘रातभर हामीले घटनास्थल सुरक्षित राख्यौं । बिहान मेरो कमान्डमा खटिएको टोलीले सुटकेस खोलेर हेर्दा त्यसभित्र शव रहेछ,’ डीएसपी कार्कीले भने । उनका अनुसार हत्या कसले र किन गरेको खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार रुबीको विवाह भारतको मजफरपुरमा भएको हो । अहिले उनी माइतीघरमा बस्दै आएकी थिइन् । रुबी र उनको पतिको सम्बन्धका विषयमा विस्तृत खुलेको छैन । रुबीको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।