
काठमाडौं, भदौ ९ :
काठमाडौं महानगरपालिकाले गरेको ज्यादतीको विरोधमा कबाड व्यवसायी र मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले महानगरले अनावश्यक दमन, कुटपिट, संरचना भत्काउने र सामान जफत गर्नेजस्ता गतिविधि गर्दै आएको आरोप लगाएका छन्।
कबाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा भएको प्रदर्शनका क्रममा व्यवसायी तथा मजदुरहरूले नाराबाजीसहित र्याली निकालेर महानगर कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरे।
व्यवसायीहरूका अनुसार पछिल्ला दुई वर्षदेखि काठमाडौं महानगरले निरन्तर रुपमा दमन गर्दै आएको छ। महानगरका कारण जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको भन्दै आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।
महानगरको कदमलाई गैरकानुनी र एकतर्फी भन्दै व्यवसायीहरूले यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।