
सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।
सोही दिन अपराह्न ४:१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिनेछ । भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिए।
सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा समिति निर्णयभन्दा फरक राखिएको पाइएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडाको राजीनामापछि समितिको नयाँ सभापति चयन प्रक्रिया अघि बढेको हो ।